Locals of Palpa district have announced indefinite bandh in the district starting Thursday protesting against the Government's decision to register proposal seeking to amend the constitution. Transportation service, market, and educational institutes throughout the district have remained completely shut due to the bandh. Locals numbered in hundreds have also staged demonstration in the district.
५ नम्बर प्रदेश टुक्र्याएको विरोधमा पाल्पाका युवा, विद्यार्थी, तरुणले अनिश्चितकालीन पाल्पा बन्द घोषणा गरेका छन् । बिहानैदेखिको पाल्पा बन्दले जनजीवन प्रभावित बनायो । बिहानैदेखि पाल्पामा प्रदर्शन, यातायात बन्द र बजार पसल बन्द गराएका थिए ।
बिहानैदेखि सडकमा ओर्लिएका युवा, विद्यार्थी र तरुणले बजार, कलकारखाना, स्कुल क्याम्पस बन्द गराए । पाल्पा बन्दले तानसेन लगायत ग्रामीण भेगका साथै सिद्धार्थ राजमार्ग र गुल्मी, अर्घाखाँची जाने सडकमा सवारीसाधन बन्द भएको छ । विद्यार्थी र युवाहरु सडकमा नारा जुलुस गर्दै हिँडेका थिए ।
पाल्पाबाट छुट्ने लामो तथा छोटो दुरीको सवारीसाधन बन्द भए । युवा विद्यार्थीले नारा लगाउँदै राष्ट्रघाती संविधान संशोधन फिर्ता लिनुपर्ने र नलिएमा निरन्तर आन्दोलन गर्ने बताए ।
संविधान संशोधनमा ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोजेको विरोधमा पाल्पाका युवा, तरुण विद्यार्थीले अनिश्चितकालीन बन्दको घोषणा गरेको नेपाल तरुण दलका अध्यक्ष मेजरसिंह केसीले बताए । सरकारले विधेयक फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।
संविधान संशोधनका विरुद्धमा सबै युवा, विद्यार्थी र तरुण एकजुट भएर आन्दोलन अघि बढाएको एमाले निकट अखिलका केन्द्रीय सदस्य दीपक विकले बताए । उनले दलहरुको आन्दोलनलाई सहयोग गर्दै युवा, तरुण र विद्यार्थीले आन्दोलनलाई थप सशक्त बनाउने बताए ।
युवा विद्यार्थीले अनिश्चितकालीन रुपमा सरकारी नम्बर प्लेटका सवारीसाधनलाई गुड्नसमेत नदिएको बताए । सरकारको संविधान संशोधनमा ५ नम्बर प्रदेश टुक्र्याउने एजेण्डा फिर्ता नलिएसम्म सरकारी सवारीसाधनलाई तानसेन बजारमै गुड्न नदिनेसमेत युवा, तरुण विद्यार्थीले बताए ।
बन्दका बेला राप्रपा पाल्पाको एकता भेलालाई भने कार्यक्रम गर्न दिने उनीहरुले बताएका छन् । प्रेस, दूध, पानी, पर्यटक, एम्बुलेन्स लगायतका सवारीसाधनलाई चल्न दिइएको उनले बताए ।